सप्तरी । सडक बनाउने ठेक्का रद्द भएको दुई महिनाभन्दा बढी समय बितिसकेको छ । तर सप्तरीका राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको अवस्था भने उस्तै छ । सडक जीर्ण छ । ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । वर्षायाममा हिलो र पानीले थप समस्या हुन्छ । यही सडक भएर दैनिक यात्रा गर्ने सर्वसाधारण जोखिम मोलेर गन्तव्य पुग्न बाध्य छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–इनरुवाका विजय देवका लागि यो समस्या नयाँ होइन । उहाँ दैनिक यही सडक हुँदै भारदहस्थित कार्यालय पुग्नुहुन्छ । “बाटो नबनेको वर्षौँ भयो । दिनहुँ यही बाटोबाट आवतजावत गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “स्कुटर, मोटरसाइकल वा अन्य सवारी साधनमा कार्यालय जाँदा सडक बिग्रिएकाले निकै हल्लाउने र उफार्ने गर्छ ।”
सडकको खराब अवस्थाले सामान्य यात्रुलाई मात्र होइन, बिरामी, गर्भवती र वृद्धवृद्धालाई समेत बढी समस्या हुने गरेको स्थानीय बताउँछन् । नाम सार्वजनिक नगर्ने सर्तमा एक महिला कर्मचारीले सडककै कारण आफूले दुईपटक प्राकृतिक गर्भपतनको समस्या भोग्नुपरेको बताउनुभयो ।
उहाँका अनुसार नियमित कार्यालय जानुपर्ने महिलाका लागि यो सडक थप पीडादायी बनेको छ । “कार्यालय जानैपर्ने बाध्यता हुन्छ । कति दिन बिदा लिएर बस्नु ? सडक बिग्रिएका कारण धेरै महिला कर्मचारीले गर्भ तुहिएर पनि सहेर बस्नुपरेको छ । विकल्प छैन,” उहाँले भन्नुभयो ।
सडक बिग्रिएका कारण सवारीसाधनमा क्षति पुग्ने, दुर्घटनाको जोखिम बढ्ने र यात्रामा समय तथा खर्च दुवै बढ्ने गरेको स्थानीयको भनाइ छ ।
पाँच वर्षअघि सकिनुपर्ने काम अझै अधुरो
सडक डिभिजन कार्यालय लहानका प्रमुख ध्रुव झाका अनुसार यी सडकको निर्माण पाँच वर्षअघि नै सकिनुपर्ने थियो । तर ठेकेदारले सम्झौताअनुसार काम नगर्दा सडक निर्माण अलपत्र परेको हो ।
“सडक लामो समयदेखि जीर्ण भएकाले दैनिक आवतजावत गर्ने सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको र सवारीसाधन बिग्रिएको गुनासो आउने गरेको छ,” झाले भन्नुभयो ।
सडक स्तरोन्नति तथा नाला निर्माणको जिम्मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि, शम्भुनाथले पाएको थियो । तर सम्झौताअनुसार काम अघि नबढाएपछि पटक–पटक ताकेता गरिएको थियो ।
ताकेता गर्दा समेत काममा सुधार नआएपछि भौतिक पूर्वाधार मन्त्रालयले गत जेठको पहिलो साता ठेक्का सम्झौता रद्द गरेको थियो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ का सम्बन्धित प्रावधानअनुसार सडक डिभिजन कार्यालयले २०८३ जेठ ७ गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।
अब फेरि नयाँ ठेक्का
पुरानो ठेक्का रद्द भएपछि सडक निर्माणका लागि नयाँ प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । कार्यालय प्रमुख झाका अनुसार राजविराज–रूपनी र राजविराज–छिन्नमस्ता सडक खण्डका लागि नयाँ टेन्डर आह्वान भइसकेको छ । अबको एक महिनाभित्र निर्माण सम्झौता गर्ने तयारी छ ।
राजविराज–हनुमाननगर सडक खण्डका लागि भने दुई हप्ताभित्र टेन्डर आह्वान गर्ने कार्यालयको योजना छ । तर स्थानीयका लागि नयाँ टेन्डरभन्दा पनि सडकमा काम कहिले सुरु हुन्छ भन्ने चासोको विषय बनेको छ । वर्षौँदेखि बिग्रिएको सडकमा फेरि कागजी प्रक्रिया मात्र लम्बिए सर्वसाधारणले थप सास्ती खेप्नुपर्ने अवस्था आउने उनीहरूको गुनासो छ ।






