रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका २ लक्षमिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ९ जना प्रहरी घटनास्थल पुगेका थिए ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ सदस्यीय डुबान उद्धार (डीएम) टोली रबर बोर्डसहित घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालबालिकाको खोजीलाई तीव्रता दिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।






