रौतहट । रौतहटको मौलापुर नगरपालिका १ मर्यादपुरस्थित लाल बकैया नदीको तटबन्ध तीव्र कटानका कारण जोखिममा परेको छ । तटबन्ध जोगाउन सरकारी तथा स्थानीय निकायले प्रयास गर्दै आएपनि नदीको निरन्तर बहावका कारण कटान बढ्दै गएको छ ।
तटबन्धको ठूलो हिस्सा कटान भइसकेको र बाँकी भागसमेत कमजोर अवस्थामा रहेकाले माथिल्लो क्षेत्रमा ठूलो वर्षा भए नदीको पानी तटबन्ध पार गरेर बस्तीमा पस्ने जोखिम बढेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र मौलापुर नगरपालिकाको समन्वयमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले तटबन्ध संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ । तर नदीको निरन्तर बहाव र कटानका कारण गरिएका प्रयास प्रभावकारी हुन नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवका अनुसार तटबन्धको बाँकी भागसमेत नदीले बगाएमा मौलापुर नगरपालिका १, २, ३, ४ र ५ नम्बर वडा प्रत्यक्ष प्रभावित हुन सक्छन् ।
नदीको पानी बस्तीमा प्रवेश गरेमा खेतबारीमा मात्रै नभई घर तथा मानव बस्तीसमेत डुबानमा पर्न सक्ने अवस्था रहेको यादवले बताए । उनका अनुसार बौधिमाई नगरपालिकाको अजगैबी क्षेत्रसमेत प्रभावित हुन सक्छ ।
‘अहिले नै काम नगरे ठूलो क्षति हुन सक्छ,’ उपप्रमुख यादवले भने । लाल बकैया नदीको तटबन्धमा भइरहेको कटानलाई सामान्य रूपमा लिन नहुने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
माथिल्लो क्षेत्रमा हुने वर्षाका कारण नदीमा पानीको सतह बढे कमजोर बनेको तटबन्ध जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको उनीहरू बताउँछन् । तटबन्ध पूर्ण रूपमा भत्किएमा नदीको पानीलाई पुरानै धारमा नियन्त्रण गर्न कठिन हुने र खेतबारी हुँदै सिधै बस्तीमा प्रवेश गर्न सक्ने अवस्था रहेको छ ।
जोखिमयुक्त क्षेत्रमा तत्काल ग्याबियन जाली, ढुंगा, बालुवाका बोरा लगायतका कटान नियन्त्रण सामग्री प्रयोग गरी तटबन्ध मजबुत बनाउनुपर्ने स्थानीयको माग छ ।
सम्भावित बाढीलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले पूर्वतयारी तथा उद्धारका लागि आवश्यक स्रोत–साधन समेत तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ ।
वर्षायाम अझै बाँकी रहेकाले समयमै तटबन्ध संरक्षण गर्न नसके गत वर्षजस्तै ठूलो क्षेत्र डुबानमा पर्ने र खेती तथा बस्तीमा क्षति पुग्ने सम्भावना रहेको स्थानीयको चिन्ता छ ।
जोखिम बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था नियमित निगरानी गर्न, रातिको समयमा विशेष सावधानी अपनाउन तथा पानीको सतह अस्वाभाविक रूपमा बढेमा सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ ।
स्थानीयले तटबन्धको अवस्था तत्काल निरीक्षण गरी दीर्घकालीन समाधानसहित युद्धस्तरमा कटान नियन्त्रणको काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।






