वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर ३ घर भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका ३ सोनबर्सा क्षेत्रबाट चौधरीलाई १०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका चौधरीलाई नियन्त्रणमा लिएर जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका चौधरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो तथा यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






