रौतहट । नेपालमा रासायनिक मलको अभाव चर्किएका बेला सीमावर्ती नेपाली किसान भारतबाट मल ल्याउन बाध्य भइरहेका छन् । तर, भारतबाट मल ल्याउने क्रममा किसान पक्राउ पर्ने क्रम भने रोकिएको छैन ।
सर्लाहीका दुई किसान तीन बोरा रासायनिक मल ल्याएको आरोपमा भारतमा पक्राउ परी ३८ दिन जेल बसेर रिहा भएको घटना सेलाउन नपाउँदै फेरि एक नेपालीसहित दुई जना भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन् ।
भारतको बिहारस्थित मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रमा नेपालतर्फ युरिया मल ल्याउँदै गरेको आरोपमा एक नेपालीसहित दुई जनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेको हो ।
भारतीय पक्षका अनुसार नेपालतर्फ युरिया मल लैजान लागेको सूचना पाएपछि आदापुरका कृषि पदाधिकारी र स्थानीय प्रहरीको संयुक्त टोलीले औरैया गाउँस्थित चमरहिया पोखरीनजिक निगरानी बढाएको थियो । सोही क्रममा साइकलमा युरिया मलका बोरा राखेर नेपालतर्फ जाँदै गरेका दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–जोधपुर गम्हरिया बस्ने सीताराम साहका छोरा किशोरी साह र भारतको पूर्वी चम्पारण जिल्लाअन्तर्गत आदापुर थाना क्षेत्र लालाछपरा बस्ने स्वर्गीय रामएकबाल साहका छोरा ब्रह्मा साह रहेका छन् ।
भारतीय प्रहरीका अनुसार उनीहरूको साथबाट चार बोरा युरिया मल र दुई वटा साइकल बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको भारतीय पक्षले जनाएको छ ।
तीन बोरा मल ल्याउँदा ३८ दिन जेल
यसअघि सर्लाहीको बलरा नगरपालिका ४ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ४२ वर्षीय सुरेशप्रसाद सिंह पनि भारतमा पक्राउ परेका थिए । स्थानीय बजारमा रासायनिक मल नपाएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए ।
तीन बोरा युरिया र छ बोरा डीएपी मल साइकलमा राखेर नेपाल फर्किने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र कृषि विभागको संयुक्त टोलीले उनीहरूलाई असार १७ गते पक्राउ गरेको थियो ।
मल खरिद गरेर नेपाल फर्किंदै गर्दा पक्राउ परेका उनीहरू ३८ दिन भारतीय कारागारमा बसेपछि दुई दिनअघि मात्रै रिहा भएका थिए । उक्त घटना सेलाउन नपाउँदै फेरि बाराका एक नेपाली किसान भारतमा पक्राउ परेका हुन् ।
किसानको प्रश्न : ‘नेपालमा मल पाइँदैन, भारतबाट ल्याउँदा पनि पक्राउ किन ?’
धानमा गोडमेल गरी मल हाल्ने मुख्य समयमा समेत नेपालका सीमावर्ती क्षेत्रमा रासायनिक मलको अभाव कायमै छ । किसानलाई अहिले युरियालगायत अन्य रासायनिक मलको अत्यधिक आवश्यकता छ ।
नेपालमै पर्याप्त मल उपलब्ध हुन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष तथा युवा नेता चन्दन कुशवाहाले मलको अभावमा बाध्य भएर भारतीय बजारबाट मल ल्याउने किसान पक्राउ पर्नु दुःखद भएको बताएका छन् ।
उनका अनुसार किसानलाई आवश्यक मलखाद सहज रूपमा उपलब्ध गराउनु नेपाल सरकारको दायित्व हो। भारतबाट मल ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले किसानलाई आवश्यक मलखाद उपलब्ध गराउनुपर्छ । सीमावर्ती किसानको समस्या समाधानका लागि भारत सरकारसँग समेत समन्वय गरेर मल ल्याउने प्रक्रिया सहज बनाउन पहल गर्न आवश्यक छ,’ कुशवाहाले भने ।
प्रहरीलाई समेत घटनाबारे जानकारी छैन
बाराका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मिनबहादुर घलेले युरिया मल ल्याउने क्रममा नेपाली नागरिक किशोरी साह भारतीय प्रहरीद्वारा पक्राउ परेको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । न्यूज कारखासँग कुरा गर्दै डीएसपी घलेले घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन् ।
मल अभावको मारमा किसान, सीमामा पक्राउको त्रास
एकातिर नेपालमा मलको अभाव र अर्कोतिर भारतबाट मल ल्याउँदा पक्राउ पर्ने अवस्था सिर्जना भएपछि सीमावर्ती किसान थप समस्यामा परेका छन् ।
किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू सीमापारिको बजारमा पुग्न बाध्य हुने र त्यही क्रममा पक्राउ पर्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ ।
नेपालमा मल नपाउने र भारतबाट ल्याउँदा पक्राउ पर्ने अवस्थाले सीमावर्ती किसान दोहोरो मारमा परेका छन् । किसानको यो समस्या समाधान गर्न सरकारले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ ।






