सर्लाही । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका २ स्थित राजदेवी मन्दिर अगाडि स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य फर्स्ट बटन तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरेको हो ।
बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरी घाइते भएका थिए ।
उनलाई प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगिएकोमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । निजलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको थियो ।
उनीहरू प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भएका छन् । बरामद रकम, स्कुटर र जगन्नाथ महतो कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






