काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिक बुढाथोकी, सन्त बहादुर लामा र रमेश धमला रहेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकीले जापान पठाइदिने भन्दै १ सय १५ जना पीडितबाट २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ । रकम लिएपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका १० घर भएका ३९ वर्षीय सन्त बहादुर लामाले मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ तथा काठमाडौंको तारकेश्वर नगरपालिका ४ बस्ने गोरखाको आरुघाट गाउँपालिका ५ घर भएका ३१ वर्षीय रमेश धमलाले सर्विया पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रतिकलाई रूपन्देहीको बुटवलबाट सोमबार पक्राउ गरेको हो । सन्त बहादुरलाई ललितपुरको महालक्ष्मी नगरपालिका १० बाट र रमेशलाई काठमाडौं महानगरपालिका २६ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।






