काठमाडौं । रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ । मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं. १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।
अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताए । नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिए ।
“रक्तसञ्चार केन्द्रमा एक/दुई पोका मात्र रगत छ, तर दैनिक ४०/५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भने, “बिरामीहरु जसरी पनि दिनुपर्यो भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।”
रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम अन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको छ ।






