रौतहट । रौतहटको गुजरा नगरपालिका ७ मा विषालु सर्पले टोकेका सात वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो ।
सर्पले टोकेपछि परिवारले तत्काल अस्पताल लैजानुको सट्टा उनलाई गाउँकै झाँक्री कहाँ लगेर झारफुक गराएका थिए । झारफुककै क्रममा बालकको अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए । तर अस्पताल पुग्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
सर्पदंशपछि समयमै उपचार नपाउँदा बालकको मृत्यु भएको हो । विषालु सर्पको टोकाइपछि विषको प्रकार र मात्रा तथा बिरामीको अवस्थाअनुसार केही समयमै स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने चिकित्सकहरू बताउँछन् ।
झारफुकबाट सर्पको विषको असर रोक्न सकिने वैज्ञानिक प्रमाण नभए पनि ग्रामीण क्षेत्रमा अझै यस्तो अभ्यास कायमै रहेको छ । यसका कारण सर्पदंशका बिरामी अस्पताल पुग्न ढिलाइ हुने गरेका छन् ।
विशेष गरी वर्षायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले सर्पले टोकेको शंका लाग्नेबित्तिकै बिरामीलाई अनावश्यक हिँडडुल नगराई सम्भव भएसम्म छिटो उपचार हुने स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ । गुजरा नगरपालिका ७ को घटनाले सर्पदंशमा समयमै उपचार नपाउँदा हुन सक्ने गम्भीर जोखिमलाई पुन: उजागर गरेको छ ।






