रौतहट । चालकलाई कुटपिट गरिएको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा शुक्रबार बिहान सवारी चालकहरूले चक्काजाम गरेका छन् । दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र घाइते चालकलाई न्याय दिनुपर्ने माग गर्दै चालकहरूले केही समय सडक अवरुद्ध गरेका हुन् ।
गौर नगरपालिका ४ स्थित बसपार्क नजिक गौर–चन्द्रनिगाहपुर सडकखण्डमा ईभीलगायतका सवारीसाधन सडकमा तेर्स्याएर चालकहरूले प्रदर्शन गरेका थिए । चक्काजामका कारण वीरन्द्र राजमार्गमा समेत केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
गत सोमबार गौर–गंगापिपरा सडकखण्डअन्तर्गत सिर्सिया क्षेत्रमा सडकमा रहेको कुकुरलाई जिपले ठक्कर दिएर मारेको विषयलाई लिएर चालक अरविन्द पण्डितमाथि कुटपिट भएको आरोप छ ।
दुर्गा भगवती गाउँपालिका ३ का २५ वर्षीय पण्डितका अनुसार पाहुना लिएर गन्तव्यतर्फ जाँदै गर्दा राजदेवी नगरपालिका २ हजमिनियामा उनको गाडी जबर्जस्ती रोकेर गौर नगरपालिका ९ का राजवंश सिंह र उनका छोरा आयुष सिंहले घरमा लगेर कुटपिट गरेका थिए ।
पण्डितले आफूलाई कुकुरजस्तै बाँधेर समेत कुटपिट गरिएको बताएका छन् । घटनामा घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले राजवंश सिंहलाई पक्राउ गरिसकेको छ भने उनका छोरा आयुष सिंह फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दोषीलाई कारबाहीको माग गर्दै चालकहरूले शुक्रबार बिहानैदेखि बसपार्कमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले बताए ।
उनका अनुसार केही समय अवरुद्ध भएको सडक खुलेसँगै गौर बसपार्कबाट सवारीसाधनको आवागमन सामान्य अवस्थामा फर्किएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






