काठमाडौं । अपहरण गरी बन्धक बनाएर १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार झापाको शिवसताक्षी नगरपालिका १० माइधार घर भई हाल काठमाडौं महानगरपालिका २६ मित्रनगर बस्दै आएका नवीन रायलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको सूचना प्राप्त भएको थियो ।
अपहरणकारीले रायलाई कुटपिट समेत गरी परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको सूचना पाएपछि प्रहरीले तत्काल उद्धार तथा अपहरणकारीलाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरेको थियो । प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका ५ क्षेत्रबाट अपहरणमा परेका रायलाई सकुशल उद्धार गरी घटनामा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका ५ फापरबारीका २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका ४ का २२ वर्षीय जैनिश चौधरी रहेका छन् ।
यस्तै ओखलढुंगा लिखु गाउँपालिका ५ का २४ वर्षीय निमेष कार्की, चितवन राप्ती नगरपालिका २ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका ३ का २३ वर्षीय प्रदीप पोखरेल र कपिलवस्तुका २३ वर्षीय देवकुमार श्रेष्ठ पनि सम्लग्न रहेका छन् ।
प्रहरीले पक्राउ परेका सातै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।






