रौतहट । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका ९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन् । बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खसेपछि उनी जमेको पानीमा डुबेकी थिइन् ।
बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकालेका थिए । तर उद्धार गरेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे बिहान साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो । त्यसपछि असई धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा थप प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।






