बारा । जिल्ला प्रहरी कार्यालय बाराले गत आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्यौट गरेको छ । यो कुल दर्ता मुद्दाको करिब ६२ प्रतिशत हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ५ सय १८ वटा मुद्दा अझै फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए ।
एसपी कुँवरका अनुसार २०८२ साल मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएयता अपराध नियन्त्रण तथा अनुसन्धानसँगै चोरी तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।
प्रहरीले गत आर्थिक वर्षमा भन्सार छली गरी ल्याइएका १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । अवैध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गर्नुका साथै ३३ वटा सवारी साधन नियन्त्रणमा लिइएको एसपी कुँवरले बताए ।
खुला सीमाबाट हुने चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती बढाइएको उनले बताए । शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच तथा निगरानी भइरहेको उनको भनाइ छ ।
बैंकिङ कसुर र साइबर अपराध चुनौती
बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर तथा घरेलु विवाद चुनौतीका रूपमा देखिएको एसपी कुँवरले बताए । आर्थिक वर्ष २०८२/८३ मा मात्रै बैंकिङ कसुरसम्बन्धी १ सय ९५ वटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये १ सय ३१ वटा फर्छ्यौट भएका छन् भने ६४ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छन् । अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरका १ सय ४७ वटा मुद्दा दर्ता भएका थिए ।
प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तस्करी नियन्त्रण, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय प्रहरी साझेदारीका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
राजमार्ग, औद्योगिक क्षेत्र तथा संवेदनशील स्थानमा नियमित चेकजाँच र गस्ती बढाइएको एसपी कुँवरले बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघनमाथि निगरानी बढाइएको उनले जानकारी दिए ।
६१ प्रहरी जनशक्ति अपुग
जिल्ला प्रहरी कार्यालय बारामा ९ सय ५३ जनाको दरबन्दी रहेकामा हाल ८ सय ९२ जना प्रहरी कार्यरत छन् । दरबन्दीअनुसार ६१ जना प्रहरी जनशक्ति अपुग रहेपनि उपलब्ध जनशक्तिबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा गस्तीको काम सञ्चालन भइरहेको एसपी कुँवरले बताए ।
सवारी साधनको अभावका कारण कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै मोटरसाइकल प्रयोग गरेर ड्युटी गर्नुपर्ने अवस्था रहेको उनले बताए । केही अस्थायी प्रहरी पोस्ट तथा चौकीमा पंखा, बेडलगायतका आधारभूत सुविधा समेत अभाव रहेको उनको भनाइ छ ।
नागरिकसँग सहकार्यलाई प्राथमिकता
एसपी कुँवरले आगामी दिनमा नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिकबाट प्राप्त हुने सूचना महत्वपूर्ण हुने भन्दै उनले प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरे ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सही सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताए ।
नेपाल प्रहरीको ‘नेपाल पुलिस एप्स’ मार्फत प्राप्त हुने गुनासो तथा सूचनामाथि समेत जिल्ला प्रहरी कार्यालयबाट आवश्यक निगरानी र समन्वय गर्ने गरिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेको समेत उपस्थिति रहेको थियो ।






