रौतहट । रौतहटको दक्षिणी सीमावर्ती क्षेत्रस्थित परोहा नगरपालिका आफ्नै आधुनिक प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिन थालेको छ । लामो समयसम्म भाडाका तथा अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको नगरपालिकाको प्रशासनिक सेवा आफ्नै सुविधासम्पन्न भवनमा सरेसँगै सेवाग्राहीलाई सहज भएको छ ।
नगर प्रमुख शेख वकिलको पहलमा निर्माण सम्पन्न भएको नवनिर्मित प्रशासनिक भवनको केही दिनअघि विशेष समारोहबीच उद्घाटन गरिएको थियो । उद्घाटनसँगै नगरपालिकाका दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाह नयाँ भवनबाट सञ्चालनमा आएका छन् ।
नगरपालिकाका अनुसार करिब १३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको भवनमा ३५ वटा कोठा र एउटा सभाहल छन् । भवन निर्माणमा संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत लगानी रहेको बताइएको छ ।
करिब पौने दुई बिघा क्षेत्रफलमा फैलिएको नगरपालिकाको परिसर अब प्रशासनिक केन्द्रमा मात्र सीमित रहने छैन । यही परिसरमा प्रशासनिक भवनसँगै कृषि भवन र नगर अस्पतालका संरचनासमेत निर्माण गरिएको छ ।
नगर प्रमुख वकिलका अनुसार यी सबै संरचना पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीले एउटै परिसरबाट प्रशासनिक, स्वास्थ्य तथा कृषि सेवा प्राप्त गर्न सक्नेछन् । यसले एउटा कामका लागि नगरपालिका, अर्को कामका लागि स्वास्थ्य संस्था र कृषि सेवाका लागि छुट्टै कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ ।
नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवाग्राहीका लागि सेवा प्रवाह थप छिटो, सहज र व्यवस्थित हुने नगरपालिकाको विश्वास छ । नगर प्रमुख वकिलले आधुनिक पूर्वाधारसहितको नयाँ भवनले नगरपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै नागरिकलाई पारदर्शी, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनेछन् भने कृषि भवनमार्फत किसानलाई प्राविधिक परामर्श तथा आवश्यक कृषि सेवा उपलब्ध गराउन सहज हुनेछ ।
एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय, श्रम र आर्थिक खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । स्थानीय नागरिक अगुवाहरूले नवनिर्मित प्रशासनिक भवनलाई परोहा नगरपालिकाको पूर्वाधार विकाससँगै सुशासन र प्रभावकारी सेवा प्रवाहतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।
नगरपालिकाको प्रशासनिक केन्द्र लौकाहा बजारमा रहेको छ । आफ्नै आधुनिक भवन सञ्चालनमा आएसँगै परोहाले अब नागरिकलाई थप व्यवस्थित, प्रविधिमैत्री र सेवाग्राहीकेन्द्रित सेवा दिने अपेक्षा गरिएको छ ।
परोहाको नयाँ प्रशासनिक भवन केवल कार्यालय सञ्चालन गर्ने संरचनामा सीमित नरही एकै छानामुनि नागरिकका विविध आवश्यकता पूरा गर्ने एकीकृत सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले अघि सारेको छ ।






