सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरबाट २२ किलोभन्दा बढी गाँजासहित दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ । महेन्द्र राजमार्गअन्तर्गत नवलपुरमा चेकजाँचका क्रममा हरिवन नगरपालिकाको डाबरीबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध प्रभावित क्षेत्रका रूपमा परिचित डाबरीबाट गाँजा लिएर आउँदै गरेको सूचनाका आधारमा प्रहरीले अटो रोकेर जाँच गरेको थियो । त्यसक्रममा अटोचालक हरिवन नगरपालिका–घुर्कौली निवासी ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अटोमा पाँचवटा पोकामा लुकाएर ल्याइएको २२ किलो ८२० ग्राम गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






