काठमाडौं । ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्यो’ भन्दै फोन गरेर ओटीपी कोड लिई बैंक खाताबाट रकम रकमान्तर गरी ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न व्यक्तिलाई बैंकका कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका ४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राम नगरपालिका १६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका ३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने गरेका थिए । अनुसन्धानका क्रममा उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्यो’ भन्दै फोन तथा ह्वाट्सएप कल गर्ने गरेको खुलेको छ ।
त्यसपछि पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाएर ओटीपी कोड प्राप्त गर्ने र सोही कोडको प्रयोग गरी बैंक खातामा अनधिकृत पहुँच पुर्याउने गरेको प्रहरीले जनाएको छ ।
खातामा पहुँच पाएपछि उनीहरूले रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साइबर ब्युरोले जनाएको छ । घटनामा पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अपरिचित व्यक्तिले बैंकका कर्मचारी भएको दाबी गर्दै ओटीपी, पासवर्ड वा स्क्रिन सेयर गर्न आग्रह गरेमा त्यस्तो विवरण नदिनसमेत आग्रह गरेको छ ।






