रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ स्थित पेटभरवा गाउँको नाम परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । गाउँको पुरानो नाम हटाएर ‘यदुबंशी नगर’ राख्ने विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म पेटभरवाको विद्यमान अवस्था कायम रहने भएको छ । अर्थात्, हालका लागि ‘यदुबंशी नगर’ नाम कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन नपाइने भएको छ ।
रामनाथ राय यादव समेतले जिल्ला प्रशासन कार्यालय रौतहट, गौरसमेतलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण/परमादेशसम्बन्धी रिटमाथि उच्च अदालतको संयुक्त इजलास नम्बर ३ ले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय रेखा थापा पाण्डे र अस्मिन कुमार राईको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विवादित विषय तत्काल कार्यान्वयन गर्दा सम्बन्धित पक्ष तथा आम सेवाग्राहीलाई प्रत्यक्ष असर पर्न सक्ने अवस्था देखिएको भन्दै अन्तरिम संरक्षण प्रदान गरेको हो ।
अदालतले रिट निवेदनको अन्तिम सुनुवाइ नभएसम्म विवादित विषयमा यथास्थिति कायम राख्न आदेश दिएको छ । आदेशमा समान प्रकृतिको विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको उल्लेख गर्दै सम्बन्धित संवैधानिक तथा कानुनी प्रश्नको निरुपण आवश्यक रहेको संकेत गरिएको छ ।
अदालतको आदेशपछि पेटभरवा गाउँको नाम परिवर्तनसम्बन्धी प्रक्रिया तत्काल रोकिएको छ । अब मुद्दाको अन्तिम फैसला नआएसम्म सरकारी कागजात तथा प्रशासनिक काम कारबाहीमा नयाँ नाम लागू गर्ने प्रक्रिया अघि बढाउन नमिल्ने भएको छ ।
अन्तिम फैसला भने होइन
यद्यपि, अदालतको यो आदेशलाई अन्तिम फैसला भने मान्न मिल्दैन । अदालतले अहिलेसम्म पेटभरवा नाम नै कायम रहने वा ‘यदुबंशी नगर’ नाम स्वीकृत हुने भन्ने विषयमा अन्तिम निर्णय गरेको छैन । यो मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म विवादित अवस्थालाई यथावत् राख्न दिइएको अन्तरिम आदेश मात्र हो ।
अदालतले विपक्षीहरूलाई आदेशको जानकारी गराई नियमानुसार पेश गर्न समेत निर्देशन दिएको छ । यससँगै पेटभरवा गाउँको नाम परिवर्तनसम्बन्धी विवादले नयाँ कानुनी मोड लिएको छ । अन्तिम फैसला नआएसम्म पुरानै अवस्था कायम रहने भएकाले तत्कालका लागि पेटभरवा नाम नै व्यवहारमा रहने भएको छ ।






