बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर भएको पाँचबुँदे सहमति पीडित परिवारले अस्वीकार गरेपछि पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पुनः अवरुद्ध भएको छ ।
प्रशासन र पीडित पक्षबीच बिहीबार राति भएको वार्तामा पाँचबुँदे सहमति जुटेको थियो । तर सहमतिको विषयमा असन्तुष्टि जनाउँदै पीडित परिवार तथा स्थानीयवासी पुन: प्रदर्शनमा उत्रिएपछि पथलैया–वीरगञ्ज सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वार्ताबाट सहमति भएपनि पीडित परिवारले त्यसलाई स्वीकार नगरेकाले सडक अवरुद्ध भएको हो ।
यद्यपि पूर्व–पश्चिम महेन्द्र राजमार्ग भने शुक्रबार बिहानदेखि सञ्चालनमा आएको उनले जानकारी दिए । वीरगञ्जतर्फबाट आउने सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कलैया–पिलुवा सडक हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
पीडित परिवारलाई सहमतिका बुँदाबारे थप जानकारी गराउँदै सडक खुलाउने प्रयास भइरहेको एसपी बस्नेतले बताए । गरिमा चौधरीको हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने तथा अन्य माग सम्बोधन गर्नुपर्ने भन्दै परिवारजन र स्थानीयवासी केही दिनदेखि आन्दोलनमा छन् ।
आन्दोलनका कारण पथलैया–वीरगञ्ज सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुँदै आएको छ । यसअघि प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा पीडित पक्षबीच भएको छलफलबाट आन्दोलन स्थगित गरी सडक खुलाउने सहमति भएको थियो ।
तर उक्त सहमति पीडित परिवारले अस्वीकार गरेपछि सडक पुन: बन्द भएको हो ।
सहमति कार्यान्वयनका विषयमा थप छलफल गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।






