सर्लाही । सर्लाही प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट १० क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा बरामद गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ ।
यस्तै एक जना फरार रहेका छन् । जिल्लाको उत्तरी चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका १४ डाइनीखोलाबाट प्रहरीले ७४३ किलो ९८० ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनाको घरमा ड्रम तथा बोराभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । सोही क्रममा प्रहरीले घर नजिकैको करिब दुई कठ्ठा मकैबारीमा लगाइएको गाँजाको बेर्ना समेत नष्ट गरेको छ ।
सडकको सहज पहुँच नभएको डाइनीखोलामा प्रहरी टोली दुईवटा ट्र्याक्टर प्रयोग गरेर पुगेको थियो । बाढीका कारण खोलामा सवारी साधन सञ्चालन हुन नसकेपछि गाँजा बरामद गर्न प्रहरीहरू ट्र्याक्टरमार्फत घटनास्थल पुगेका हुन् ।
नारायणखोला तथा आसपासको चुरे क्षेत्रमा प्रहरीले यसअघि पनि पटक–पटक गाँजा बरामद गर्नुका साथै अवैध रूपमा लगाइएको गाँजाको खेती नष्ट गर्दै आएको छ । भौगोलिक रूपमा विकट र प्रहरीको नियमित उपस्थिति कम हुने क्षेत्रमा स्थानीयले गाँजा खेती गर्दै आएको प्रहरीको भनाइ छ ।
यसैबीच प्रहरीले सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने कौडेना गाउँपालिका १ लक्ष्मीपुरबाट थप ३०० किलो गाँजा बरामद गरेको छ । स्थानीय बिजन पटेलको घरमा १५ वटा बोरामा राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो ।
गाँजा बरामद भएपनि घरधनी पटेल भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै स्थानबाट बरामद भएको लागुऔषध गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।






