बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणले बारासहित देशभर गम्भीर प्रश्न उठाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ दसधुरीकी गरिमा दुई दिनसम्म बेपत्ता भएपछि खोजीका क्रममा मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढाको एउटा खाली घरमा कपडामा पोको पारिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकामाथि यौन हिंसापछि हत्या भएको हुन सक्ने देखाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा २ का १६ वर्षीय सुमन थापा र वडा नम्बर १ का २४ वर्षीय प्रोग्रेस चौधरी छन् । प्रहरी अनुसन्धानमा सुमनको मुख्य भूमिका देखिएको जनाइएको छ ।
खोजीमा सहभागी बनेर शंका टार्ने प्रयास
गरिमा बेपत्ता भएपछि परिवार र स्थानीयवासीसँगै सुमन पनि खोजी अभियानमा सहभागी भएका थिए । प्रहरीका अनुसार उनी घटनास्थल आसपासमै रहेर खोजीमा सहयोग गरिरहेको देखिन्थे ।
मंगलबार प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी अभियान सञ्चालन गर्दा पनि उनी प्रहरीसँगै हिँडिरहेका थिए । बालिकाको शव भेटिएपछि समेत घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने भन्दै उनी अरूसँगै घटनास्थलमा उपस्थित थिए । तर अनुसन्धानका क्रममा प्रहरीको शंका उनीतर्फ केन्द्रित भयो ।
तालिम प्राप्त कुकुरले दिएको संकेत तथा अन्य प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक प्रकाश थापाका अनुसार सोधपुछका क्रममा सुमनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रारम्भिक जानकारी आएको छ ।
यद्यपि उनको बयानलाई मात्र आधार नबनाई घटनास्थलबाट प्राप्त भौतिक प्रमाण तथा अन्य पक्षमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चकलेट दिएर बालिकालाई लगेको प्रारम्भिक निष्कर्ष
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुमनले गरिमालाई चकलेट दिएर फकाउँदै घटनास्थलतर्फ लगेका थिए । गरिमाको घर नजिकै प्रोग्रेस चौधरीको घर रहेको र बालिका त्यहाँ आउने जाने तथा खेल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुमन वीरगञ्ज–पथलैया सडकखण्डमा सञ्चालन हुने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानमा सहचालकका रूपमा काम गर्दै आएका थिए । उनी उक्त भ्यानका चालक प्रोग्रेससँगै बस्ने, खाने र सुत्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुमनका आमाबुबा दुवै छैनन् । सामान्य लेखपढ गर्न जाने पनि उनी नियमित विद्यालयमा अध्ययनरत रहेको नदेखिएको प्रहरीले जनाएको छ । स्थायी पारिवारिक संरक्षणको अभावमा कामको सिलसिलामा जहाँ बस्ने अवसर पाउँथे, त्यहीँ बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शव लुकाउन खोजेको आरोप
प्रहरीका अनुसार सुमनले दिएको प्रारम्भिक बयानमा आइतबार बिहान गरिमालाई प्रोग्रेसको घरबाट घटनास्थलतर्फ लगेको बताएका छन् । घटनापछि बालिका बेहोस भएपछि आफू त्यहाँबाट फर्किएको र दिउँसो पुनः घटनास्थलमा पुगेर शवलाई कपडामा पोको पारेको बयान दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
घटनास्थलमा बालिकाको शव कपडामा पोको पारिएको अवस्थामा भेटिएको थियो । शव लुकाउने प्रयास भएको हुन सक्ने देखिएपछि प्रहरीले घटनास्थलबाट थप प्रमाण संकलन गरेको थियो ।
दुई दिनपछि भेटिएको थियो शव
गरिमा आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी थिइन् । परिवारले तत्कालै उनको खोजी थाले पनि बालिकाको अवस्था के भएको हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन ।
मंगलबार गाउँकै बीचमा रहेको एउटा खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तालिम प्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले घरबाट करिब २०० मिटरको दूरीमा रहेको स्थानमा कपडामा बेरिएको अवस्थामा गरिमाको शव फेला पारेको थियो ।
गरिमा जीतपुरसिमरा २ स्थित सरस्वती आधारभूत विद्यालयमा हालै प्ले ग्रुपमा भर्ना भएकी थिइन् । उनको मृत्युले परिवार शोकमा डुबेको छ भने स्थानीयवासी दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
१६ वर्षीय आरोपी भएकाले छुट्टै कानुनी प्रक्रिया
घटनामा मुख्य आरोपी भनिएका सुमन १६ वर्षका भएकाले उनको हकमा सामान्य वयस्क अभियुक्तसरह कानुनी प्रक्रिया लागू हुँदैन । प्रचलित कानुनअनुसार १६ देखि १८ वर्ष उमेरका बालबालिकाले कसुर गरेको अवस्थामा वयस्कलाई हुने सजायभन्दा कम सजायको व्यवस्था छ ।
बालबालिका सम्बन्धी कानुनअनुसार बाल अभियुक्तसम्बन्धी मुद्दाको सुनुवाइ बाल इजलासबाट हुने तथा कारबाही बालमैत्री र गोप्य प्रक्रियाबाट अघि बढाइने व्यवस्था छ । गम्भीर प्रकृतिको कसुरमा पर्याप्त आधार देखिए बाल अदालतले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न सक्ने कानुनी व्यवस्था छ ।
बाल अभियुक्तलाई अनुसन्धान तथा हिरासतका क्रममा वयस्क थुनुवासरह व्यवहार गर्न नपाइने र नेल वा हतकडी लगाउने तथा एकान्त कारावासमा राख्ने कार्यमा समेत कानुनी प्रतिबन्ध रहेको छ ।
प्रहरीले अभियुक्तको उमेर प्रमाणीकरण, घटनास्थलबाट प्राप्त प्रमाण, शव परीक्षणको प्रतिवेदन तथा अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।






