धनुषा । धनुषामा प्रहरीले २२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय यदुकुहाको संयुक्त प्रहरी टोलीले धनुषाको शहीदनगर नगरपालिका ३ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खैरो हेरोइन खरिद बिक्री भइरहेको सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट २२.८५० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ९ का २७ वर्षीय बल्लु पासवान र क्षिरेश्वरनाथ नगरपालिका १० का १९ वर्षीय राजन यादव रहेका छन् । उनीहरूको साथबाट खैरो हेरोइनसँगै एउटा मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय यदुकुहाको जिम्मा लगाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






