सप्तरी । सप्तरीको राजविराज नगरपालिका ६ स्थित बागेश्वरी मन्दिर नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा रुपनी गाउँपालिका २ रामपुरका अन्दाजी ५० वर्षीय भागवतप्रसाद शाहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राजविराजबाट सखडातर्फ जाँदै गरेको को १ ख ४६०७ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट शाहको टाउको, अनुहार तथा काँधमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको थियो ।
न्युरो अस्पतालमा उपचार भइरहेका शाहलाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम भोर रहेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






