महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका १ वानटोल निवासी अन्दाजी ५ वर्षीय आदित्य कुमार महतो रहेका छन् ।
प्रहरीका अनुसार गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज ७ प ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा बालक महतोलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते बालकलाई तत्काल शुभ स्वस्तिक अस्पताल, बर्दिबास लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको थियो । न्युरो अस्पताल, जनकपुरबाट थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो ।
मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा बालक महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ बेलगाछी निवासी अन्दाजी ४१ वर्षीय दिलीप कुमार खड्का रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






