वीरगन्ज । वीरगन्ज महानगरपालिका ४ विर्तास्थित बाल सुधार गृहबाट लागुऔषधसम्बन्धी कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशोर फरार भएका छन् । प्रहरीका अनुसार ती किशोर गत मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडिपट्टिको झ्यालबाट हाम फालेर फरार भएका हुन् ।
फरार भएको चार दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले किशोर फरार भएलगत्तै खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
सर्लाहीको गोडैता नगरपालिका निवासी ती किशोरलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि बाल सुधार गृहमा राखिएको थियो । उनलाई अदालतको फैसला भएको करिब एक साताअघि मात्रै सुधार गृहमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बिहानको समयमा सुधार गृहको पछाडिपट्टिको झ्यालबाट बाहिरिएर उनी फरार भएको खुलेको प्रहरीले जनाएको छ ।
फरार किशोरको खोजीका लागि सम्भावित स्थानमा प्रहरी परिचालन गर्नुका साथै सम्बन्धित प्रहरी इकाइसँग समन्वय गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






