बारा । जितपुरसिमरा उपमहानगरपालिकामा घरबाट हराएकी तीन वर्षीया बालिकाको शव तीन दिनपछि फेला परेपछि बारा तनावग्रस्त बनेको छ । बालिकाको बलात्कारपछि हत्या भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तर, घटनाको अनुसन्धानमा प्रहरीबाट लापरवाही भएको आरोप लगाउँदै पीडित परिवार तथा आफन्तले प्रदर्शन जारी राखेका छन् ।
बालिकाका आफन्तले दोषीलाई कडा कानुनी कारबाही, घटनाको निष्पक्ष अनुसन्धान र प्रहरीको लापरवाहीमाथि छानबिनको माग गरेका छन् । सहमति जुटाउने प्रयास भइरहेपनि पीडित पक्ष सन्तुष्ट हुन नसकेपछि आन्दोलन रोकिएको छैन ।
कसरी हराइन् बालिका ?
गत ३१ साउन बिहान करिब साढे ८ बजे बालिका घरबाटै हराएकी थिइन् । लामो समयसम्म बालिका घरमा नदेखिएपछि आमाले परिवारका सदस्य र प्रहरीलाई खबर गरेकी थिइन् । उनका बुवा भने मजदुरीका लागि घर बाहिर गइसकेका थिए ।
परिवारले तत्काल खोजीका लागि प्रहरीलाई जानकारी गराए पनि खोजी कार्यमा ढिलाइ भएको आफन्तको आरोप छ । प्रहरीबाट भने भोलिपल्टदेखि मात्रै खोजी तीव्र पारिएको बताइएको छ ।
हराएको तेस्रो दिन बालिकाको घरबाट करिब दुई सय मिटर टाढा रहेको मानिसको आवतजावत नभएको एउटा घरबाट दुर्गन्ध आएपछि प्रहरीले त्यहाँ खोजी गरेको थियो । त्यस क्रममा बालिकाको शव फेला परेको थियो ।
अनुसन्धान कहाँ पुग्यो ?
घटना सार्वजनिक भएपछि परिवारले छिमेकी एक १६ वर्षीय किशोरमाथि शंका व्यक्त गरेको थियो । ती किशोर बालिकाको घरमा आउने जाने गरेको परिवारको भनाइ थियो । शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा शंकास्पद किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेको र बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । किशोरको बयानका आधारमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २४ वर्षीय प्रोग्रेश चौधरीलाई समेत पक्राउ गरेको छ ।
चौधरी म्याजिक गाडीका चालक तथा सवारीधनी रहेको र पक्राउ परेका किशोर सोही गाडीका सहचालक रहेको प्रहरीले जनाएको छ । दुवै जनामाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ ।
किन भइरहेको छ आन्दोलन ?
बालिका हराएपछि समयमै खोजी नगरेका कारण घटना थप गम्भीर बनेको पीडित परिवारको आरोप छ । प्रहरीले तत्काल खोजी गरेको भए बालिकाको ज्यान जोगाउन सकिने अवस्था रहेको भन्दै आफन्तले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि समेत कारबाही हुनुपर्ने माग राख्दै आफन्त तथा स्थानीयले वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
बारासँगै रौतहट र काठमाडौंमा समेत प्रदर्शन भएको बताइएको छ । आन्दोलनका कारण बालिकाको शवसमेत परिवारले बुझ्न मानेको छैन ।
प्रशासनसँग के सहमति भयो ?
आन्दोलनका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रशासनले राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग छलफल गरेको थियो । बिहीबार राति जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको उपस्थितिमा पीडित परिवारलाई राहत तथा रोजगारीमा सहयोग गर्ने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, दोषीलाई कानुनअनुसार कडा कारबाही गर्ने र खोजीमा लापरवाही गर्ने प्रहरीमाथि कारबाही गर्ने लगायतका विषयमा सहमति भएको प्रशासनले जनाएको छ ।
तर, उक्त सहमतिमा पीडित परिवार र आफन्त सहमत हुन सकेका छैनन् । उनीहरूले वार्तामा गृहमन्त्रीको प्रत्यक्ष सहभागिता हुनुपर्ने तथा दोषीलाई कडा सजाय सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् ।
प्रहरीमाथि पनि छानबिन
घटनाको अनुसन्धानका क्रममा प्रहरी प्रधान कार्यालयले सिमराका डीएसपी सन्दीप क्षेत्री र इन्स्पेक्टर प्रकाश थापालाई मुख्यालय झिकाएको छ । बालिका बेपत्ता भएको सूचना पाएपछि प्रहरीले गरेको खोजी तथा अनुसन्धानमा कुनै लापरवाही भए–नभएको विषयमा समेत छानबिन भइरहेको छ ।
प्रहरीले पक्राउ परेका आरोपितसँग बयान लिनुका साथै परिवार, आफन्त र अन्य सम्भावित व्यक्तिसँग समेत सोधपुछ गरिरहेको जनाएको छ । घटनामा पक्राउ परेका व्यक्तिबाहेक अन्यको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार शुक्रबार पनि प्रशासनले पीडित पक्षसँग वार्ता गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको छ ।
विपन्न परिवारमा बज्रियो पीडा
मृतक बालिकाका बुवा दैनिक ज्यालादारीमा काम गर्छन् भने आमा घरायसी काममा व्यस्त रहन्छिन् । सामान्य आर्थिक अवस्था भएको परिवारमा एक छोरा र एक छोरी थिए । मजदुरी गरेर परिवार चलाउँदै आएका बाबु बालिका हराएको दिन बिहानै कामका लागि घरबाट निस्किएका थिए ।
घटनापछि परिवारले छोरी गुमाउनुका साथै न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको छ । प्रहरीले अनुसन्धान निष्पक्ष रूपमा अघि बढाउने र दोषी देखिएका सबैमाथि कानुनअनुसार कारबाही गर्ने बताएको छ ।






