रौतहट । रौतहटको राजदेवी नगरपालिका ७ मुडवलवामा घरको ताल्चा तोडेर चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय भोला राउत भेडिहरका छोरा ३० वर्षीय मनोज राउत भेडिहर रहेका छन् । उनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मनोज यादवको घरमा चोरी गर्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी राउतले घरको ढोकामा लगाइएको ताल्चा तोडेर सामान चोरी गरेका थिए । चोरीका सामान लिएर भाग्ने क्रममा घरधनीका आफन्त तथा स्थानीयले उनलाई घेरा हाली नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएका राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट पुगेको प्रहरी टोलीको जिम्मा लगाइएको छ ।
प्रहरी सहायक हवल्दार यादव हाल सर्लाहीको मलंगवामा कार्यरत रहेको बताइएको छ । पक्राउ परेका राउत यसअघि पनि गाउँमा चोरीका घटनामा संलग्न रहेको आरोप लाग्दै आएको प्रहरीले जनाएको छ । गत साउन ६ गते स्थानीय अभिमन्यु यादवको घरमा चोरी गरेको आरोपमा समेत उनी पक्राउ परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै पक्राउ परेका राउत जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






