बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा न्यायको माग गर्दै बारामा जारी प्रदर्शन अझै रोकिएको छैन । स्थानीयले बुधबारदेखि पथलैया र सिमरा क्षेत्रमा सडकमा धर्ना दिँदै आएका छन् ।
प्रदर्शनका कारण पूर्व-पश्चिम महेन्द्र राजमार्ग तथा वीरगञ्ज-पथलैया सडकखण्डको यातायात प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ । यही क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय विवाद समेत भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैयामा सडक अवरुद्ध नगरी सिमरा क्षेत्रमा केन्द्रित भएर आन्दोलन गर्न स्थानीयलाई आग्रह गरेका छन् । तर, बालिकाको परिवार र स्थानीयले भने सडकबाटै दबाब सिर्जना गर्ने भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।
न्यायको माग गर्दै प्रदर्शनकारीले वीरगञ्ज-पथलैया सडकखण्डको सिमरा क्षेत्रमा टेन्ट राखेर धर्ना दिइरहेका छन् । बालिकाको परिवारलाई समर्थन जनाउँदै जीतपुरसिमरा उपमहानगरपालिकासहित बाराका विभिन्न क्षेत्रबाट स्थानीय समेत प्रदर्शनमा सहभागी भइरहेका छन् ।
पाँचबुँदे सहमति पनि कार्यान्वयनमा आउन सकेन
घटना समाधानका लागि स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा बिहीबार राति पाँचबुँदे सहमति गरिएको थियो । तर, बालिकाको परिवारले उक्त सहमतिमा आफ्नो स्वीकृति नरहेको भन्दै अस्वीकार गरेको छ ।
परिवारले सहमति आफ्नो जानकारी तथा सहमतिबिना मध्यरातमा गरिएको दाबी गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । त्यसपछि प्रदर्शन र सडक धर्ना पुनः निरन्तर भएको हो ।
यसअघि स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै उनको सरुवाको माग गरेका थिए । प्रहरी प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासन र आन्दोलनरत पक्षबीच सहमति जुटाउने प्रयास गरिएको थियो । तर, सहमति भएपनि पीडित परिवारले त्यसलाई स्वीकार नगरेपछि आन्दोलन टुंगिन सकेको छैन ।
शव अस्पतालमै, आन्दोलन जारी
मृतक बालिका गरिमा चौधरीको शव अहिले पनि कलैया अस्पतालमा रहेको छ । परिवारले न्यायको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान राखेको छ । घटनालाई लिएर स्थानीयस्तरमा आक्रोश बढ्दै जाँदा सडक आन्दोलनमा सहभागीको संख्या पनि बढिरहेको छ ।
प्रदर्शनका कारण राजमार्गमा आवागमन प्रभावित भएपछि प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको छ भने प्रदर्शनकारीले भने माग सम्बोधन नभएसम्म धर्ना नछाड्ने बताएका छन् ।






