रौतहट । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
एसएसबीको ७१ औँ वाहिनीअन्तर्गतको टोलीले बिहारको पूर्वी चम्पारण जिल्लास्थित अगरवा क्षेत्रमा शुक्रबार साँझ कारबाही गर्दै १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई नेपालीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन् । एसएसबीका अनुसार दुवै नानसागरा घाट क्षेत्रका बासिन्दा हुन् ।
एसएसबीका अनुसार उनीहरूलाई अगरवा गाउँनजिक सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नेपालमा सामान लैजाने क्रममा नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको १९ बोरा युरिया मलमध्ये प्रत्येक बोरामा ४५ किलोका दरले कुल ८५५ किलो मल रहेको जनाइएको छ ।
अर्को स्थानबाट पनि मल बरामद
यसैबीच, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा एसएसबीले गरेको अर्को कारबाहीमा नेपालतर्फ लैजान लागिएको २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरिएको छ ।
सुरक्षाकर्मीलाई देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर भाग्न खोजेको एसएसबीले जनाएको छ । उनीहरूलाई पछ्याउने क्रममा भारतको बीजबनी गाउँका गोपाल रायलाई पक्राउ गरिएको बताइएको छ ।
सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनापछि निगरानी र गस्ती बढाइएको एसएसबीले जनाएको छ । पछिल्लो समय भारतबाट नेपालतर्फ युरिया मललगायतका सामग्री अवैध रूपमा भित्र्याउने क्रम बढेको भन्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ ।






