सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ३ काब्रिस्थानमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
धनकौल–पर्सा भित्री सडकखण्डमा ज ११ प १२१३ र प्रदेश २–०२–००३ प ११७५ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपूर्वा नगरपालिका ३ का ४० वर्षीय कारी पमरियाको मृत्यु भएको हो । गम्भीर घाइते भएका पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका १५ सोकनाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन् । उनको जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका ३ का २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






