बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दुसधराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ । मुख्य आरोपी मानिएका सुमन थापाले बयानका क्रममा पोलेका जीतपुरसिमरा २ का १४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कक्षा ९ मा अध्ययनरत खड्कालाई आइतबार साँझ पक्राउ गरिएको सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । सुमनको भाइरल भिडिओमा प्रदीपकै योजना र अगुवाइमा अपराध भएको दाबी गरिएको थियो । सोही सोधपुछको भिडियो बाहिरिएपछि मात्र प्रहरीले खड्कालाई समातेको हो ।
खड्काको पक्राउसँगै यस घटनामा नियन्त्रणमा लिइनेको संख्या ८ पुगेको छ । गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि पीडित परिवारले दिएको पूरक जाहेरीका आधारमा शनिबार थप पाँच जना पक्राउ परेका थिए ।
प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने अहिलेसम्म गोप्य नै राखेको छ । पक्राउ परेकाहरूको बयान, भौतिक प्रमाण तथा प्राविधिक विश्लेषणका आधारमा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा नभएसम्म यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ ।






