काठमाडौं । धनुषाको जनकपुरमा कार्यरत एक चिकित्सक र उनका बुबामाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघले स्वास्थ्य संस्थाभित्र चिकित्सकमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिअनुसार भदौ ५ गते जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत डा. शशी शेखर अधिकारीमाथि काम गरिरहेको अवस्थामा एक समूहले हातपात गरेको थियो ।
संघका अनुसार आक्रमणकारीहरूले डा. अधिकारीका बुबामाथि समेत कुटपिट गरेका थिए । कुटपिटबाट उनका बुबा गम्भीर घाइते भएको संघले जनाएको छ । स्वास्थ्य सेवा प्रदान गरिरहेको अवस्थामा चिकित्सकमाथि भएको आक्रमणलाई संघले अत्यन्तै निन्दनीय र अमानवीय घटना भनेको छ ।
यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असुरक्षित बनाउनुका साथै समग्र स्वास्थ्य क्षेत्रमा त्रासको वातावरण सिर्जना गर्ने संघको भनाइ छ । संघले घटनामा संलग्न सबै व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न समेत सरकारसँग आग्रह गरेको छ । नेपाल चिकित्सक संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरेको छ ।
स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै संघले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।






