सिरहा । सिरहाको मिर्चैया नगरपालिका ५ स्थित पुरानो बजारमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान दुईतले पक्की घरमा आगलागी हुँदा करिब ३० वर्षीया विभा पूर्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी रञ्जितकुमार महतोकी श्रीमती हुन् ।
प्रहरीका अनुसार बिहान करिब ११:३५ बजे महतोको घरमा आगलागी भएको थियो । आगलागी भएको करिब पाँच मिनेटपछि स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेको कमान्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । घरभित्र खोजी गर्ने क्रममा प्रहरीले विभाको शव फेला पारेको जनाएको छ ।
आगलागीका कारण उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । घटनाको कारण भने खुलिसकेको छैन । आगलागीको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
थप अनुसन्धान तथा घटनास्थलको प्राविधिक परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।
उक्त टोलीमा मिर्चैया सरकारी अस्पतालका चिकित्सक तथा विद्युत् प्राविधिक समेत सहभागी थिए । मृतकको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।






