रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका ४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो । गाउँका होनहार युवा तथा सरकारी सेवामा क्रियाशील शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो ।
गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको हो । मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवले अन्तत: जीवनसँगको संघर्ष हारेका हुन् ।
दुर्गा भगवती गाउँपालिका ४ का वडाध्यक्ष रामानन्द यादवका अनुसार काठमाडौंमा रहेका बेला यादवलाई अचानक मस्तिष्कघात भएको थियो । उनी पछिल्लो डेढ वर्षदेखि गृह मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए ।
‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष रामानन्द यादवले भने । सरकारी सेवामा रहँदा यादवले रौतहटमै पनि लामो समय महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटसहित जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका उनी कर्मचारी तथा जनप्रतिनिधिमाझ सरल, मिलनसार र जिम्मेवार प्रशासकका रूपमा परिचित थिए ।
दुर्गा भगवती गाउँपालिका २ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले यादवको निधनले गाउँपालिका मात्र नभई जिल्लाले नै एक अनुभवी र कर्तव्यनिष्ठ कर्मचारी गुमाएको बताएका छन् ।
‘यति कम उमेरमै उहाँको निधनको खबर पत्याउनै गाह्रो भइरहेको छ । उहाँले प्रशासनिक क्षेत्रमा अझै धेरै योगदान दिन सक्नुहुन्थ्यो,’ झाले भने । यादवको पार्थिव शरीर मंगलबार बिहान पैतृक गाउँ छतौना ल्याइएको छ ।
उनको अन्तिम संस्कार मंगलबार दिउँसो बागमती नदीको किनारमा हिन्दू परम्पराअनुसार गरिने परिवारले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनको असामयिक निधनले परिवारलाई मात्र होइन, आफन्त, सहकर्मी, जनप्रतिनिधि तथा शुभेच्छुकलाई समेत गहिरो शोकमा पारेको छ ।
यादवको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा समेत श्रद्धाञ्जलीको ओइरो लागेको छ । स्थानीयवासी, कर्मचारी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले उनको तस्वीर राख्दै भावुक शब्दमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
४२ वर्षको अल्पायुमै भएको उनको निधनले एउटा परिवारको सहारा मात्र गुमाएको छैन, प्रशासनिक क्षेत्रमा योगदान दिइरहेका एक सम्भावनाशील र कर्तव्यनिष्ठ कर्मचारीलाई समेत देशले गुमाएको छ ।






