महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका १ बाट गाँजाजस्तो देखिने पदार्थ करिब २१ किलो १० ग्रामसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका २ इनर्वा टोलका ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानाकी ३६ वर्षीया उषा कुमारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति प्रदेश २–०२–००५ प ३२९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा उषाले गौशाला नगरपालिका ४ पानीट्यांकी नजिक डेरामा लिएको कोठाबाट समेत गाँजाजस्तो देखिने पदार्थ १० किलो ३ सय ७५ ग्राम बरामद गरिएको छ ।
दुवै स्थानबाट बरामद पदार्थको कुल तौल ३१ किलो ४ सय ८५ ग्राम रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






