सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका ५ घर भई मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत २० वर्षीया गुडिया कुमारी गुप्ता रहेकी छन् ।
प्रहरीका अनुसार नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गुप्तालाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक गोडैता नगरपालिका ११ का अन्दाजी १७ वर्षीय अजय साहलाई समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






