वीरगंज । पर्सामा प्रहरीले अवैध लागूऔषध गाँजा र ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका १ विश्रामपुर जाने नहरको बाटोबाट करिब २ किलो २ सय ९० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित भारतको समस्तीपुर थाना दलसिगस्रा पाड गाउँका ६३ वर्षीय रामचन्द्र राय यादव पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाटाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै वीरगञ्ज महानगरपालिका ८ स्थित लुम्बिनी होटलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित धादिङको गजुरी गाउँपालिका ४ का ३५ वर्षीय मछिन्द्र चेपाङ पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले बुधबार राति होटलको १०८ नम्बरको कोठामा तलासी गर्दा ३ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला पारेपछि चेपाङलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।






