बारा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बाराका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारी, हाइड्रोपावरमा कार्यरत कर्मचारी तथा ट्रक–कन्टेनर चालक छन् ।
प्रशासनका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत मदन स्याङ्बो लामा पनि सम्पर्कविहीन भएका छन् । उनको स्थायी ठेगाना मकवानपुरको छतिवडा गाउँपालिका ४ नयाँ डमर रहेको उल्लेख गरिएको छ । त्यसैगरी परवानीपुर गाउँपालिका ५ बहुअरीका ३५ वर्षीय नम नारायण सिंह ट्रक लिएर रसुवा भन्सार पुगेका बेला सम्पर्कविहीन भएका हुन् ।
कलैया उपमहानगरपालिका २२ धोध टोलका २३ वर्षीय सत्यप्रकाश राम, आदर्श कोतवाल गाउँपालिका १ चिउटाहाका २३ वर्षीय अंकित पटेल, प्रसौनी गाउँपालिका ३ का जितेन्द्रकुमार दास र कलैया उपमहानगरपालिका २३ का श्रीनिवास मण्डल पनि रसुवामा रहेका बेला सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका १६ का रजित श्रेष्ठ र निजगढ नगरपालिका ९ शान्तिटोलका ३९ वर्षीय राज विष्ट त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए । बाढीपछि उनीहरू दुवै सम्पर्कविहीन भएका छन् । त्यस्तै करैयामाई गाउँपालिका २ का ३० वर्षीय धिरज चौधरी, सुवर्ण गाउँपालिका ५ औरैयाका रुपेशकुमार साह र सुवर्ण गाउँपालिका ४ हरहियाका रमेशकुमार यादव पनि सम्पर्कविहीनको सूचीमा छन् ।
रुपेशकुमार साह रसुवाको नौकुण्ड गाउँपालिकामा कार्यरत रहेको प्रशासनले जनाएको छ । निजगढ नगरपालिका ९ का दिनेश परिवार ट्रक–कन्टेनर चालक हुन् । उनी रसुवाबाट सामान ढुवानीका लागि गएको अवस्थामा सम्पर्कविहीन भएका हुन् ।
कलैया उपमहानगरपालिका ६ आदर्शनगरका २८ वर्षीय देवेश भट्टराई अपर त्रिशूली ३ ‘बी’ परियोजनाको पहिरेबेँसी प्रोजेक्ट साइटमा कार्यरत थिए । उनी पनि बाढीपछि सम्पर्कविहीन छन् । सुवर्ण गाउँपालिका १ का २२ वर्षीय सुरजकुमार साह रसुवास्थित श्रीनाथ गण, ब्राबल ब्यारेकमा कार्यरत थिए । उनी पनि बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् ।
त्यस्तै निजगढ नगरपालिका ८ का ५५ वर्षीय उत्तम न्यौपाने भदौ १० गते काठमाडौं हुँदै रसुवा गएको र त्यसपछि परिवारसँग सम्पर्क नभएको प्रशासनले जनाएको छ । सम्पर्कविहीन व्यक्तिका आफन्त तथा परिवारजनले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, इलाका प्रहरी कार्यालय महेन्द्र जय नगर, सशस्त्र प्रहरी बेस तेलकुवा तथा निजगढ र जिल्ला प्रशासन कार्यालय बारामा जानकारी गराएका छन् ।
प्रशासनका अनुसार सम्पर्कविहीन सबै १५ जना पुरुष हुन् । उनीहरू रोजगारी, सरकारी सेवा तथा माल सामान ढुवानीलगायतका कामका सिलसिलामा रसुवा पुगेका थिए । रसुवामा बाढीपछि ठूलो जनधनको क्षति भएको अवस्थामा बाराका नागरिक समेत सम्पर्कविहीन भएपछि उनीहरूका परिवारजनमा चिन्ता बढेको छ ।
सम्पर्क विहीनहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । प्रशासनले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित आपत्कालीन उद्धार निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।






