महोत्तरी । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका महोत्तरीका १८ जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा पुगेका १९ जनामध्ये जलेश्वर ९ पर्कौलीका राकेशकुमार यादव भने सम्पर्कमा आएका छन् । बाँकी १८ जनासँग सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ ।
सम्पर्कविहीन हुनेमध्ये अधिकांश रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । उनीहरू त्रिशूली हाइड्रोपावर, अपर त्रिशूली १ रसुवा हाइड्रोसहित विभिन्न आयोजना तथा कम्पनीमा कार्यरत थिए ।
सम्पर्कविहीन हुनेहरूमा हरिविकासकुमार यादव, पप्पु कुमार मण्डल, मनिष मण्डल, शीतलबहादुर लुङ्गेली, विजय थापामगर, सुशीललाल दास, श्रीकेश यादव, सन्तोषकुमार ठाकुर, युवराज पाण्डे, सौभाग्य विष्ट, जोया रानामगर, सचिनकुमार यादव, आदितनारायण यादव, विपिनकुमार मण्डल, गंगाराम मण्डल, हासान अन्सारी र विकास भारती रहेका छन् ।
प्रशासनका अनुसार केही व्यक्ति रोजगारी तथा जलविद्युत् आयोजनामा काम गर्न रसुवा पुगेका थिए भने केही व्यापार तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका थिए । बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा आवागमन तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूको अवस्था अझै यकिन हुन नसकेको जनाइएको छ ।






