बारा । बाराको कलैया उपमहानगरपालिका १४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल बिहीबार राति करिब १० बजे लक्ष्मिनिया चोकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल रेफर गरिएको थियो ।
बयोधा अस्पताल पुर्याइएका पाण्डेलाई चिकित्सकले राति १०:५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतकको शव बयोधा अस्पतालमै राखिएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।






