सर्लाही । सर्लाहीको बलरा नगरपालिका ७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३० वाईएल ३१८० को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा खसेर ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका ६ का १७ वर्षीय अभिनाष बैठा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो ।
तर उपचारकै क्रममा राति करिब १०:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलको बीचमा बसेका बलरा ६ कै १८ वर्षीय रोहित बैठा पनि दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा शनिबार बिहान करिब २ः३१ बजे बाटोमै मृत्यु भएको आशंकापछि उनलाई पुनः प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । अस्पतालमा ईसीजी परीक्षण गरेपछि चिकित्सकले उनको पनि मृत्यु भएको पुष्टि गरेका छन् ।
मोटरसाइकलको पछाडिपट्टि सवार भारतको बिहारस्थित सीतामढी जिल्ला, बथनाहा थाना रनौली १० घर भई हाल बलरा ६ मा बस्दै आएका २४ वर्षीय शनि कुमार बैठा दुर्घटनामा घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु भएका दुवै जनाको शव प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।




