जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १२७ जनामध्ये १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार शनिबार टेलिफोनमार्फत १५ जनासँग सम्पर्क स्थापित भएको हो ।
बाढीपछि मधेसका विभिन्न जिल्लाबाट १२७ जना सम्पर्कविहीन भएको विवरण प्रहरीमा आएको थियो । प्रहरीका अनुसार अझै सप्तरीका ३२, पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका ८ र धनुषाका ५ जना सम्पर्कविहीन छन् ।
शनिबार दिउँसोसम्म परिवारको सम्पर्कमा आएकामा पर्साको वीरगन्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, रौतहट गढीमाई नगरपालिका ७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी रहेका छन् ।
त्यस्तै, रौतहट ईशनाथ नगरपालिका ४ का सेख मजिद, चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका १ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान तथा महोत्तरीको जलेश्वर नगरपालिका १ का राकेशकुमार यादव पनि परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हङ्सपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार समेत सम्पर्कमा आएका छन् । रसुवामा रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा पुगेका मधेसका नागरिक बाढीको चपेटामा परेपछि उनीहरूका परिवारजन चिन्तित बनेका छन् ।
विभिन्न जिल्लाबाट सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरीले उनीहरूको विवरण संकलन गरी खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
प्रवक्ता ढकालका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । परिवार वा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी पाएमा नजिकको जिल्ला प्रशासन कार्यालय, प्रहरी वा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।




