पर्सा । बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले १६ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोगसँगै संस्थाले प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै नि:शुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सञ्चालन गरेको जनाएको छ ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र कर्मचारीहरूको एक दिनको तलबबाट संकलित ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था गरिएको हो ।
विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्यमा समेत असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै संस्थाले विभिन्न केन्द्रबाट नि:शुल्क आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराइरहेको छ ।
संस्थाका अनुसार कलंकीस्थित दृष्टि आई केयर सेन्टर, धादिङको गल्छी सामुदायिक आँखा उपचार केन्द्र र नुवाकोटको बट्टार दृष्टि आई केयरमार्फत प्रभावित नागरिकलाई सेवा प्रदान भइरहेको छ ।
डा. श्रेष्ठले विपद्को समयमा मानवीय सहयोग अभियानमा साथ दिने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । उनले बाढी पहिरो प्रभावित नागरिकको राहत, उपचार र पुन:स्थापनाका लागि देशभरका व्यक्ति तथा संघसंस्थालाई आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्न समेत आग्रह गरेका छन् ।
विपद्को समयमा प्रभावित समुदायलाई आर्थिक सहयोगसँगै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण रहेको संस्थाले जनाएको छ ।




