धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको ठूलो हिस्सा भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको जग नै कमजोर भई भासिएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग खस्किएर ठूलो भाग भासिएकाले तत्काल दुवैतर्फबाट सवारी सञ्चालन गर्न सकिने अवस्था छैन ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र मुग्लिङतर्फ आवतजावत गरिरहेका सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
पाण्डेका अनुसार सडकको क्षति गम्भीर रहेकाले तत्काल मर्मत गरेर यातायात सञ्चालनमा ल्याउन समय लाग्न सक्ने देखिएको छ । सडक मर्मत तथा अवरोध हटाउने विषयमा सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको छ ।
यसैबीच, त्रिशूली र नारायणी नदीमा जलसतह निरन्तर बढिरहेको तथा राजमार्ग आसपासका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएकाले पृथ्वी राजमार्गको यात्रा थप जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न तथा राजमार्ग प्रयोग गर्दा विशेष सतर्कता अपनाउन यात्रुलाई आग्रह गरेको छ ।




