जनकपुरधाम । रसुवामा कार्यरत मधेश प्रदेशका दुई नेपाली सेनासहित पाँच सुरक्षाकर्मी भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाढीपछि रसुवामा कार्यरत तीन नेपाली सेनासहित १२ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए । तीमध्ये एक नेपाली सेनासहित सात जना सम्पर्कमा आइसकेका छन् भने दुई नेपाली सेनासहित पाँच जना अझै सम्पर्कविहीन छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन हुनेमा पर्साको पर्सागढी नगरपालिका ९ का प्रहरी हवल्दार श्रवणकुमार यादव, रौतहटको गौर नगरपालिका ९ का प्रहरी हवल्दार नवीनकुमार सिंह र सर्लाहीको रामनगर गाउँपालिका २ का प्रहरी जवान गजेन्द्र राय छन् ।
हवल्दार यादव प्रहरी चौकी गोल्जुङबेँसीबाट इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । उनी २०८३ वैशाख १२ गतेदेखि फिल्डमा खटिएका थिए। हवल्दार सिंह रसुवागढीस्थित प्रहरी चौकीबाट अस्थायी प्रहरी पोस्ट मैलुङमा कार्यरत थिए । उनी २०८२ माघ ७ गतेदेखि त्यहाँ कार्यरत थिए । प्रहरी जवान राय जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए ।
त्यस्तै, नेपाली सेनाका रौतहटको मौलापुर नगरपालिका ७ का सिपाही अभिषेक गुप्ता र बाराको सुवर्ण गाउँपालिका १ का सुरजकुमार साह पनि सम्पर्कविहीन छन् । गुप्ता श्री सुवेश मैलुङ पोस्ट, रसुवामा कार्यरत थिए भने साह पनि रसुवामै नेपाली सेनामा कार्यरत थिए ।
सात सुरक्षाकर्मी सम्पर्कमा
बाढीपछि सम्पर्कविहीन भएका मधेश प्रदेशका सात सुरक्षाकर्मी भने सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा पर्साको पोखरिया नगरपालिका ५ का प्रहरी जवान ओजिर अंसारी र रौतहटको राजदेवी नगरपालिका २ का प्रहरी हवल्दार सुरेन्द्र बैठा छन् । अंसारी रसुवाको धुन्चेमा र बैठा प्रहरी चौकी बेत्रावतीमा कार्यरत थिए ।
त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका ८ का प्रहरी जवान मुकेश गोसाई, सर्लाहीको कबिलासी नगरपालिका ९ का रमेश राय यादव र धनुषाको हंसपुर नगरपालिका ४ का प्रहरी सहायक हवल्दार गणेश मण्डल पनि सम्पर्कमा आएका छन् । यादव इलाका प्रहरी कार्यालय कालिकास्थानमा कार्यरत थिए भने मण्डल प्रहरी चौकी स्याफ्रुबेँसीमा कार्यरत थिए ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यालय सहयोगीका रूपमा कार्यरत सप्तरीको कञ्चनरुप नगरपालिका ८ का अजय मरिक र रसुवामा नेपाली सेनामा कार्यरत बाराको जितपुरसिमरा उपमहानगरपालिका १२ का रोवितकुमार साह पनि सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीन रहेका सुरक्षाकर्मीको खोजी भइरहेको र उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताए ।




