रौतहट । विनाशकारी बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर कोड वा लिंक आधिकारिक भए नभएको यकिन गर्न अनुरोध गरेको छ ।
विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले नक्कली क्यूआर कोड, बैंक खाता तथा सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्न सक्ने भएकाले रकम पठाउनुअघि स्रोतको आधिकारिकता अनिवार्य रूपमा जाँच्न प्रशासनले आग्रह गरेको हो ।
त्यस्तै, बाढी पहिरोबाट प्रभावित तथा पीडित व्यक्तिका विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममा पोस्ट नगर्नसमेत प्रशासनले अपिल गरेको छ । यसअघि पोस्ट गरिएका यस्ता सामाग्री पनि तत्काल हटाउन आग्रह गरिएको छ ।
विपद्का बेला पीडितको संवेदनशीलता र गोपनीयताको सम्मान गर्नु सबैको दायित्व भएको प्रशासनले जनाएको छ । दु:खद घटनाका विभत्स दृश्य अनावश्यक रूपमा सामाजिक सञ्जालमा फैलाउँदा पीडित तथा उनीहरूका परिवारमा थप मानसिक पीडा पुग्न सक्ने र त्यस्ता सामाग्रीको दुरुपयोग हुन सक्ने जोखिम रहने बताइएको छ ।
यसैगरी, विपद्को समयमा भ्रमपूर्ण, अपुष्ट तथा भ्रामक सूचना र अफवाह नफैलाउन पनि प्रशासनले सचेत गराएको छ । आधिकारिक निकायबाट पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा शेयर गर्दा उद्धार तथा राहत कार्यमा भ्रम र अन्योल सिर्जना हुन सक्ने प्रशासनको भनाइ छ ।
विपद्का बेला सहयोग गर्नु मानवीय दायित्व भए पनि सहयोगका नाममा हुने ठगी रोक्नु र अपुष्ट सूचनाको प्रसार नियन्त्रण गर्नु उत्तिकै आवश्यक रहेको प्रशासनले उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न तथा सामाजिक सञ्जालमा कुनै पनि सामाग्री पोस्ट वा शेयर गर्नुअघि त्यसको सत्यता जाँच्न आग्रह गरेको छ ।




