वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना गर्दै नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी देखिने छन् । घटनाका क्रममा उनले रातो कुर्ता सुरुवाल लगाएकी थिइन् ।
घटनालगत्तै प्रहरीले शिशु तथा शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको जनाएको छ । अस्पताल परिसर र आसपासका सम्भावित स्थानमा खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान समेत अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ती महिलालाई देख्ने वा उनको पहिचान तथा अवस्थिति सम्बन्धमा कुनै जानकारी हुने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन आग्रह गरेको छ ।
नवजात शिशुको सकुशल खोजीका लागि सहयोग गरिदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । घटनासँग सम्बन्धित थप विवरण संकलन गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
शङ्कास्पद महिलाको सम्भावित ठेगाना, गतिविधि वा पहिचानबारे कुनै सूचना प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।




