रौतहट । विनाशकारी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेका बेला रौतहटको परोहा नगरपालिकाले बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
परोहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको नगरप्रमुख शेख वकिलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारको आवश्यकता बढिरहेका बेला स्थानीय तहबाट गरिएको उक्त सहयोगले विपद्को समयमा सरकारका विभिन्न तहबीचको सहकार्य र ऐक्यबद्धताको सन्देश दिएको छ ।
नगरपालिकाले आफ्नो नियमित विकास तथा प्रशासनिक जिम्मेवारीसँगै विपद्मा परेका नागरिकप्रति सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको जनाएको छ । सहयोग रकम ठूलो नभए पनि विपद्को समयमा स्थानीय सरकारबाट देखाइएको संवेदनशीलता र सहयोगी भावनालाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
बाढी पीडितको समस्या कुनै एक पालिका वा जिल्लामा मात्र सीमित नभएकाले विपद्का समयमा स्थानीय तह, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्र तथा नागरिक समाजसमेत एकजुट भएर राहत, उद्धार र पुन:स्थापनामा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।




