वीरगञ्ज । वीरगञ्ज–रक्सौल सीमानाकाअन्तर्गत मितेरीपुलमा चेकजाँचका क्रममा प्रहरीले एक क्विन्टलभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर नम्बरको बोलेरो गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो ।
सीमा सुरक्षा बल (एसएसबी) र हरैया थानाका सुरक्षाकर्मीले संयुक्त रूपमा चेकजाँच गर्ने क्रममा गाडीमाथि शङ्का लागेपछि खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाँजालाई ठूलो–ठूलो बन्डलमा प्याक गरी बोलेरो गाडीभित्र विशेष रूपमा बनाइएको गोप्य खण्डमा लुकाएर राखिएको थियो । खान तलासीका क्रममा उक्त गोप्य खण्डबाट एक क्विन्टलभन्दा बढी गाँजा बरामद भएको हो ।
गाँजासहित पक्राउ पर्नेमा नेपालको बारा जिल्ला, सिम्रौनगढका रञ्जन कुमार र मिश्र साह कानु रहेका छन् । प्रहरीले बरामद गाँजा, बोलेरो गाडी तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ ।
सीमा क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले नियमित चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ ।




