काठमाडौं । नेपालबाट भारततर्फ हुने गाँजा तस्करीका घटनामा पर्सा–रक्सौल नाका फेरि चर्चामा आएको छ । पछिल्ला दुई छुट्टाछुट्टै घटनामा भारतीय प्रहरीले मोटरसाइकलको सिटभित्र लुकाइएको गाँजादेखि दुईवटा स्कर्पियोमा राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती घटनामा एक भारतीयसहित चार नेपाली नागरिक पक्राउ परेका छन् । लगातार लागूऔषध बरामद हुन थालेपछि रक्सौल तथा आसपासका सीमावर्ती क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले निगरानी बढाएको जनाइएको छ ।
मोटरसाइकलको सिटभित्र लुकाइएको ७ किलो गाँजा
सोमबार रक्सौलको हरैया थाना प्रहरीले लक्ष्मीपुर चेकपोस्ट बाइपासस्थित राष्ट्रिय राजमार्ग २८ बाट गाँजा बोकेको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार नेपालतर्फको सिरिसवाबाट दुई व्यक्ति गाँजा लिएर लक्ष्मीपुर चेकपोस्ट बाइपास हुँदै भारत प्रवेश गर्न लागेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो ।
बिहान करिब ८:२० बजे शंकास्पद अवस्थामा रहेको सुपर स्प्लेन्डर मोटरसाइकल रोकेर जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा करिब ७ किलो गाँजा फेला परेको थियो ।
पक्राउ पर्नेमा पूर्वी चम्पारणको दरपा थाना क्षेत्रका ५५ वर्षीय चन्देश्वर प्रसाद कुशवाहा र पर्साको पोखरिया नगरपालिका ९ विश्रामपुरका ५८ वर्षीय मदन राउत रहेको भारतीय प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट गाँजासहित ७ हजार भारतीय रुपैयाँ, ९ सय नेपाली रुपैयाँ, एउटा सुपर स्प्लेन्डर मोटरसाइकल र दुईवटा की–प्याड मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
दुई स्कर्पियोबाट १९० किलोभन्दा बढी गाँजा
यसअघि आइतबार रक्सौलमै भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले दुईवटा स्कर्पियोबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार मैत्री पुलनजिक सवारीसाधन जाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका दुई स्कर्पियोबाट कुल १९० किलो ६३५ ग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले BR25P6481 नम्बरको स्कर्पियोबाट ९८ किलो ८३५ ग्राम र BR05P2628 नम्बरको अर्को स्कर्पियोबाट ९१ किलो ८०० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
उक्त घटनामा पर्साका विष्णुदेव पटेल तथा बाराका रञ्जन पासवान र शिवचन्द्र साह कानू पक्राउ परेका छन् । भारतीय प्रहरीले उनीहरूमाथि लागुऔषध तथा मनोत्तेजक पदार्थसम्बन्धी (एनडीपीएस) ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
सवारी फरक, गन्तव्य एउटै
छोटो समयको अन्तरालमा रक्सौलमा भएका यी घटनाले भारततर्फ गाँजा लैजान विभिन्न प्रकारका सवारीसाधन प्रयोग भइरहेको देखाएको छ । सानो परिमाणको गाँजा मोटरसाइकलको सिटभित्र लुकाएर लैजाने प्रयासदेखि ठूलो परिमाणमा दुईवटा स्कर्पियो प्रयोग गरिएको घटनासम्म सार्वजनिक भएका छन् ।
विशेष गरी दुईवटा स्कर्पियोबाट एकैपटक करिब १९१ किलो गाँजा बरामद हुनुले ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको हुन सक्ने आशंका बढाएको छ ।
नेपालतर्फको सुरक्षा जाँचमाथि प्रश्न
भारतीय भूमिमा प्रवेश गरेपछि लागूऔषधसहितका सवारीसाधन पक्राउ पर्न थालेपछि नेपालतर्फको सुरक्षा जाँच प्रणालीमाथि पनि प्रश्न उठ्न थालेको छ । गाँजा बोकेका सवारीसाधनले नेपालभित्रका विभिन्न सडकखण्ड तथा सुरक्षा जाँच पार गर्दै सीमासम्म कसरी पुगे भन्ने विषय अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ ।
विशेष गरी ठूलो परिमाणको गाँजा बोकेका दुईवटा स्कर्पियो नेपालबाट भारतसम्म पुग्दासम्म विभिन्न सुरक्षा जाँचमा किन नियन्त्रणमा परेनन् भन्ने प्रश्न उठेको छ । यस्तै, मोटरसाइकलको सिटभित्र गाँजा लुकाएर सीमा पार गर्ने प्रयासले तस्करीमा संलग्न समूहले सुरक्षा जाँच छल्न विभिन्न उपाय प्रयोग गरिरहेको हुन सक्ने देखाएको छ ।
स्रोतदेखि गन्तव्यसम्मको सञ्जाल खोज्नुपर्ने
पक्राउ परेका व्यक्तिहरूले गाँजा कहाँबाट ल्याएका थिए, कसको निर्देशनमा ओसारपसार भइरहेको थियो, भारतमा यसको गन्तव्य कहाँ थियो र उनीहरूको पछाडि अन्य व्यक्ति वा संगठित समूहको संलग्नता थियो कि थिएन भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ ।
लगातारका घटनाले नेपालबाट भारततर्फ जाने सम्भावित लागूऔषध तस्करीको मार्ग, स्रोत क्षेत्र र संलग्न सञ्जाल पहिचान गर्न दुवै देशका सुरक्षा निकायबीच थप समन्वय आवश्यक देखाएको छ ।
विशेष गरी भारतीय क्षेत्रमा पुगेपछि मात्र ठूलो परिमाणमा गाँजा बरामद हुने अवस्थाले नेपालतर्फका सम्भावित तस्करी मार्ग र सुरक्षा जाँचस्थलमा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।




