सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा एक बालक फेला परेको छ । स्थानीयवासीले सडकमा घुमफिर गरिरहेको अवस्थामा करिब आठ वर्ष उमेरका, आफूलाई ‘आकाश सदा’ बताउने बालकलाई फेला पारेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बेवारिसे बालकबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर बालकको उद्धार गरी इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । हालसम्म बालकका आफन्त वा अभिभावक सम्पर्कमा नआएकाले मंगलबार उनलाई कञ्चनरुप नगरपालिका ८ कञ्चनपुरस्थित सिर्जनात्मक महिला तथा बालबालिका सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएको प्रहरीले जनाएको छ ।
बालकलाई चिन्नुहुने वा उहाँका आफन्त तथा अभिभावकबारे जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । त्यस्तै, बालकसम्बन्धी कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुमको मोबाइल नम्बर ९८५२८९०२७० वा इलाका प्रहरी कार्यालय कञ्चनपुरको मोबाइल नम्बर ९८५२८९००५१ मा सम्पर्क गरी जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ ।




